वाडाङमेट कोप्चे फेस्टिभल सुरु
धनकुटा । धनकुटा नगरपालिका–५, स्थित माथिल्लो र तल्लो कोप्चेमा वाडाङमेट तथा कोप्चे फेस्टिभल सुरु भएको छ । धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया जातिको वाडाङमेटको अवसरमा कोप्चे फेस्टिभल सुरु भएको हो ।

फेस्टिभलमा आएका पर्यटकहरूले पहिलो दिन माथिल्लो कोप्चे र तल्लो कोप्चेमा रहेका पुराना घर, मठ मन्दिर, मार्गाथान लगायतका स्थानको अवलोकन गरेका थिए । उनीहरूलाई स्थानीयले सोही ठाउँमा रहेका पुरातात्त्विक वस्तु तथा पुराना घरहरूका बारेमा जानकारी गराएका थिए ।
कोप्चे पुनर्जागरण अभियान धनकुटाले तल्लो कोप्चेमा गरेको फेस्टिभलमा स्थानीय खानाका परिकार, नेवारी कला संस्कृति झल्काउने नृत्य समेत देखाइएको थियो । यस्तै धनकुटा नगरापालिका क्षेत्रमा बसोबास रहेको आठपहरियाको वडाङ्मेट चाडमा पनि पर्यटकहरू अवलोकनका लागि पुगेका थिए ।
धनकुटा नगरपालिका, नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले समेत सहयोग गरेको अभियानले नगरको गौरव, संस्कृति र पर्यटन विकासमा नयाँ ऊर्जा र सम्पदा संरक्षण, स्वच्छ वातावरण र दिगो पर्यटन प्रवर्द्धन सहयोग पुर्याउने बताइएको छ ।
यस्तै विभिन्न मौलिक कला, संस्कृति, संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले धनकुटामा वाडाङमेट कोप्चे फेस्टिभलको आयोजना गरिएको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्यले बताउनुभयो । कात्तिक २५ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा धनकुटाका पुराना तस्बिरहरूको प्रदर्शनी समेत गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्