तपाईँ सुन्दै हुनुहुन्छः

“सहिद घोषणा मात्रै पर्याप्त छैन”: हत्यारालाई कारबाही र परिवारलाई न्याय देऊ 

बाँके । जेन–जी आन्दोलनका क्रममा भाद्र २३ गते राजधानी काठमाडौँमा प्रहरीको गोली लागी सहिद बनेका आयुष थापा मगरका बुबा सुशिल थापा मगरले छोराको मृत्युको न्याय अझै नपाएको बताएका छन् ।

रेडियो नेपालसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरकारले हामीसँग कुनै कुरा गरेको छैन । छोरालाई सहिद घोषणा गर्नु सकारात्मक कदम हो, तर यतिले मात्र पुग्दैन । हत्याराहरूलाई कारबाही हुनुपर्छ र परिवारलाई रोजगारीको व्यवस्था गरिनु पर्छ ।”

थापा मगरले हाल नेपालगञ्जमा रहेका सहिद परिवारको अवस्थाबारे बुझ्न काठमाडौँ जाँदै गरेको बताउनुभयो । उहाँका अनुसार, “५२÷५५ दिन भयो, काठमाडौँमा रहेका सहिद परिवारले के गर्दै आएका छन् भनेर बुझ्न जाँदै छु । म जस्तै पीडित परिवारहरूसँग भेटेर छलफल गर्नेछौँ र त्यसपछि कुन मन्त्रालय जाने भन्ने निर्णय गर्नेछौँ,” उहाँको भनाइ छ ।

ऊर्जा मन्त्रालयबाट फोन आएको भए पनि छोराको वियोगमा भएको कारण त्यतिबेला कुरा गर्न नसकिएको उहाँले सम्झनुभयो । “छोराको बलिदान खेर जानु हुँदैन, देशमा सकारात्मक परिवर्तन होस् भन्ने हाम्रो चाहना हो,” थापा मगरले भावुक हुँदै भन्नुभयो ।

आयुषकी आमा पुनम थापा मगर अझै पनि छोराको फोटो हेर्ने साहस गर्न सक्दिनन् । “आयुष विदेश पढ्न जाने तयारीमा थियो, भदौ ३ गते मात्रै काठमाडौँ गएको थियो । तर २० दिनमै उसको शव आयो,” उहाँले भन्नुभयाे । उनको स्वर काँप्छ, तर शब्द दृढ छन् — “अब चाहन्छौँ, छोराको बलिदान खेर नजाओस्, देशमा सकारात्मक परिवर्तन होस् र हत्यारालाई कारबाही होस् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button