तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा चोरीका स्कुटर र मोटरसाइकलसहित ६ जना पक्राउ

पोखरा  । पोखरामा चोरीका तीन वटा स्कुटर र एउटा मोटरसाइकलसहित ६ जना पक्राउ परेका छन् । 

विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल र स्कुटरहरूको खोजतलास तथा अनुसन्धानका क्रममा कास्की प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चोरी भएका ग९प ८७६१ र ग१५प ५२३७ नं.का स्कुटरसहित चार जनालाई नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग४प ७६८४ नं.को चोरी भएको स्कुटरसहित एक जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–३३ का २१ वर्षीय शेरबहादुर पुन मगर, वडा नं. ५ का २५ वर्षीय अजय नेपाली, वडा नं. १० का २१ वर्षीय सुशिल गुरुङ, वडा नं. ११ का २० वर्षीय सुदिप परियार र वडा नं. १३ काँहुँखोलाका २७ वर्षीय रोशन परियार रहेको कार्यालयले जनाएको छ । 

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चोरी भएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

गत भदौ २४ गते आन्दोलन, तोडफोड तथा आगजनीको क्रममा प्रहरी परिसरमा राखिएको मोटरसाइकल चोरी गरी चलाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा–१७ दोविल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धानका लागि राखिएको ग १६ प १४५५ नं.को कालो रङ्गको मोटरसाइकल चोरी गरी चलाइरहेको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । 

प्रहरीले उनीहरुविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button