सिख समुदायले मनाए गुरु नानकको जन्मजयन्ती
वीरगञ्ज । वीरगञ्ज तथा बारा, पर्सामा बसोबास गर्ने सिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्ती भव्य रूपमा मनाएका छन् । पाँच दिनअघि सुरु भएको भजन–कीर्तन, गुरु वाणी पाठ र प्रभातफेरी कार्यक्रम सहित आज जन्मजयन्तीको समापन कार्यक्रम सम्पन्न गरिएको छ ।

समापन कार्यक्रममा वीरगन्जको पावरहाउस चोकमा रहेको गुरुद्वाराबाट निकालिएको शान्ति ¥यालीले नगरपरिक्रमा गरेको थियो । नगर परिक्रमाको क्रममा गुरुदेवको जयजयकार गर्दै शिख समुदायका सयौँ व्यक्तिहरूले धर्म, सेवा र एकताको सन्देश दिएका थिए ।
सिख समाजका अगुवा वीरगन्जको जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले “गुरु नानक जयन्तीले सिख समुदायमा एकता, समानता र सेवाभाव जगाउने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले गुरु नानक देवलाई महान् कवि, भक्त र आध्यात्मिक मार्गदर्शकका रूपमा स्मरण गर्दै उहाँका सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गर्नुभयो ।
इतिहासमा गुरु नानक देवको योगदान अनुपम रहेको उल्लेख गर्दै सिंहले सन् १६९९ मा सुरु गरिएको ‘खाल्सा पंथ’ लाई सिख धर्मको आत्मा र गौरवको प्रतीकका रूपमा व्याख्या गर्नुभयो ।
वीरगञ्जमा करिब साढे चार सय सिख परिवारको बसोबास रहेको छ । जन्म जयन्ती समारोहमा वीरगञ्जका साथै भारतको रक्सौल क्षेत्रबाट आएका श्रद्धालुहरू र विभिन्न धर्म समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहमा भजन–कीर्तन, गुरु वाणी बाचन तथा सामूहिक भोजनको व्यवस्था गरी भक्तिभावपूर्ण रुपमा कार्यक्रम समापन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्