मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया
नेपालगन्ज । बाँकेको राप्तीसोनारी अस्पतालमा पहिलोपटक निस्शुल्क आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तीन दिनसम्म चलेको निःशुल्क शिविरमा १ सय ९३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो ।
लामो समयदेखि आर्थिक समस्याका कारण दुख पाउँदै आएका नागरिकका लागि यो शिविरले ठूलो राहत दिएको उहाँले बताउनुभयो । नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा राप्तीसोनारी गाउँपालिकाले शिविर आयोजना गरेको थियो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार कार्तिक १० गतेदेखि गाउँपालिकाका सबै ९ वडामा गरिएको निःशुल्क आँखा जाँच तथा छनोट शिविरबाट छनौट भएका बिरामीहरूको शल्यक्रिया सुरु गरिएको थियो । शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट डा. रेखा पुन, डा. नम्रता र विदेशी विशेषज्ञ डा. ओराक सहितको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्