जनशक्ति अभावबिच अनमी बिनिताद्वारा बाटोमै सुत्केरी सेवा

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–७ सिमलकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। स्थानीय सिर्जना केसीलाई बिहीबार दिउँसो सुत्केरी व्यथा लागेपछि आफन्तहरूले स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा घर नजिकैको बाटोमै बच्चा जन्मिएको हो।
घटनाबारे जानकारी पाएपछि सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी बिनिता बिष्ट तत्काल घटनास्थलमा पुगेकी थिइन्। बिष्टका अनुसार, “म पुग्दा बच्चा जन्मिसकेको थियो। मैले साल निकाल्ने र व्यवस्थापन गर्ने काम गरेँ। चेकजाँच गर्दा आमा र बच्चा दुवैको अवस्था सामान्य थियो, त्यसैले तत्काल घर पठाइयो,” उहाँले बताउनुभयो।
एक्लै सम्हाल्दै सिमलकोट स्वास्थ्य केन्द्र
अनमी बिष्ट हाल सिमलकोट स्वास्थ्य केन्द्रमा एक्लै कार्यरत छन्। बुढीगंगा नगरपालिकाले कार्तिक १ गतेदेखि सबै करार स्वास्थ्यकर्मी हटाउने निर्णय गरेपछि स्वास्थ्य केन्द्रमा कार्यरत अहेब र दुई जना कार्यालय सहयोगी समेत हटाइएका थिए। त्यसयता सबै जिम्मेवारी बिष्ट एक्लैले सम्हालिरहेकी छन्।
मानवीय नाताले बाटोमै सेवा
“बिरामीलाई बोकेर स्वास्थ्य संस्थामा पुर्याउन सकिँदैन भन्ने थाहा पाएपछि मानवीय नाताले आवश्यक सुत्केरी सामग्री बोकेर बाटोमै गएँ,” बिष्टले बताउनुभयो। उहाँका अनुसार सिर्जनाजस्तै धेरै आमाहरूले बाजुरामा बाटोमै, मेलापातमा वा घरमै बच्चा जन्माउने गरेका छन्।
स्वास्थ्य सेवामा सङ्कट
नगरपालिकाको निर्णयपछि बुढीगंगामा स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित भएको छ। हाल नगरपालिकाभित्रका ८ वटा स्वास्थ्य संस्थामा एक–एक जना स्वास्थ्यकर्मीको भरमा सेवा सञ्चालन भइरहेका छन् भने ३ वटा स्वास्थ्य संस्था पूर्ण रूपमा बन्द भएका छन्।
स्थानीयवासीले स्वास्थ्यकर्मी अभावले गाउँका महिलाहरूको जीवन जोखिममा परेको भन्दै शीघ्र समाधानका लागि माग गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्