नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसिपमा राजवीन र छियानाको दोहोरो स्वर्ण
बाँके।नेपालगञ्जमा शुक्रबारदेखि सुरु भएको नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसिप–२०२५ को उद्घाटन खेलमै सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल र छियाना महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै दुई–दुई स्वर्ण पदक जितेका छन्।
५० मिटर अण्डर–८ ब्याकस्ट्रोक इभेन्टमा सगरमाथाका राजवीन जिरेलले पहिलो स्थान हासिल गर्दै उद्घाटन स्वर्ण जिते। आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठले रजत र कोशी प्रदेशका विष्णु पराजुलीले कांस्य पदक प्राप्त गरे।
त्यसैगरी, २५ मिटर फ्रिस्टाइल अण्डर–८ ब्वाइज इभेन्टमा पनि राजवीनले पुनः स्वर्ण पदक जिते। शिखा एकेडेमी कोहलपुरका दिप्सन पुनमगर दोस्रो र आदर्श माविका युभान श्रेष्ठ तेस्रो भए।
गल्र्सतर्फ २५ मिटर फ्रिस्टाइल अण्डर–८ इभेन्टमा सगरमाथाकी छियाना महर्जनले पहिलो स्थान हात पारिन्। आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी श्रीजा रेग्मी तेस्रो भइन्।
२५ मिटर ब्याकस्ट्रोक अण्डर–८ गल्र्स इभेन्टमा पनि छियानाले पुनः स्वर्ण जित्दै दोहोरो विजेता बन्न सफल भइन्। समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो भइन्।
विजेता खेलाडीहरूलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो। प्रतियोगिताका विभिन्न उमेर समूहका खेलहरू शनिबारसम्म जारी रहने र आजै समापन हुने आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्