तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा बेमौसमी वर्षाको असर, एक हजार हेक्टरभन्दा बढी धानखेतीमा क्षति

उदयपुर । उदयपुरमा बेमौसमी बर्षाका कारण एक हजार हेक्टर भन्दा धेरै धानखेतीमा क्षति पुगेको छ ।

बंगालको खाडीबाट उत्पन्न “मोन्था चक्रवात”को प्रभावले भएको बेमौसमी वर्षा र वर्षासँगै आएको हावाहुरीको कारण एक हजार हेक्टरभन्दा बढी धानखेतीमा क्षति पुगेको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लाका आठ वटै पालिकामा हालसम्मको प्रारम्भिक रिपोर्टअनुसार एक हजार ३४ हेक्टरको धानखेतीमा क्षति पुगेको छ । 

ज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लामा यस वर्ष १२ हजार ९२५ हेक्टरमा धानखेती भएको थियो । “लहलह भएर पाकेको धान थन्क्याउने समयमा परेको बेमौसमी वर्षा र हावाहुरीको कारण हालसम्म एक हजार ३४ हेक्टरको धानखेतीमा क्षति भएको प्रारम्भिक रिपोर्ट कार्यालयमा आएको छ ।”, यादवले भन्नुभयो ।

अहिले पनि स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन भइरहेको र धेरै स्थानहरूमा काटेको धान पानीमै डुबेको कृषकको गुनासो आएको उहाँले बताउनुभयो । “अग्लो धानका बोटहरू हावाका कारण ढलेको छ, त्यसमा क्षति कम हुन्छ । पहाडी क्षेत्रमा घर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको जानकारी आएको छ”, उहाँले भन्नुभयो ।

जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका क्षेत्रमा धान भित्र्याउने समयमै वर्षा र हावाहुरी आएपछि धान ढलेको किसानहरूले गुनासो गरेका छन् । उता पहाडी क्षेत्रमा भने काटेको धान खेतमै बर्षाको पानीमा भिजेको छ । 

स्थानीय पालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button