व्यक्तिगत लगानीमा बागलुङका दुई स्थानमा निःशुल्क इन्टरनेट
बागलुङ । बागलुङको दुई स्थानमा व्यक्तिगत लगानीमा द्रुत गतिको निःशुल्क इन्टरनेट सुविधा दिन थालिएको छ ।

बागलुङ बजारका सडक खाल्टाखुल्टी पुर्ने र सरसफाईमा सक्रिय दुई युवाले बागलुङ बजारको तीन स्थानमा निःशुल्क इन्टरनेट राख्ने योजना अनुसार कालिका मन्दिर र समीक्षालय चोकमा पहिलो चरणमा निःशुल्क इन्टरनेट जडान गरेका हुन् ।
उक्त इन्टरनेट एक सय मिटर भन्दा बढी वरपरको क्षेत्रमा निःशुल्क चल्ने बताइएको छ । सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैवेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लागतमा बागलुङ बजारमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाउनुभएको हो ।
व्यक्तिगत रुपमा बागलुङ बजारका अव्यवस्थित रुपमा देखिएको खाल्टाखुल्टी सडक पुर्ने र ढलान गर्ने, सडक नाली सफा गर्ने कार्यमा सक्रिय दुई युवाले पहिलो चरणमा कालिका मन्दिर र समीक्षालय चोकमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
एक सय मिटर भन्दा टाढा सम्म वाईफाई टिप्न सक्ने द्रुत गतिको इन्टरनेटको उपकरण जडान गरिएको नैवेद्य सिग्देलले जानकारी दिनुभयो । कालिका मन्दिरमा आउने धार्मिक पर्यटकलाई र समीक्षालय चोकसहित विरेन्द्र ऐश्वर्य पार्कमा आउने नागरिकलाई लक्षित गरी इन्टरनेट सुविधा दिइएको छ ।
द्रुत गतिको एउटै इन्टरनेटको उपकरणलाई ३७ हजार पर्ने उहाँको भनाई छ । सिर्जना फर्निचरका प्रोप्राइटर विराट हरिजनले बागलुङ बजारमा सडक बत्ती समेत जडान गर्ने लक्ष्य राखिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्