रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासमा स्थगित भएको छ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा आज चौथो नम्बरमा सूचीकृत भएको थियो । तर जोशीका कानुन व्यवसायीले स्थगित गर्न आग्रह गर्दै निवेदन दिएपछि लगाउमै रहेको लामिछानेको सुनुवाइ पनि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो । ‘जोशीको तर्फबाट कानुन व्यवसायीले स्थगितको निवेदन दिनुभएपछि लगाउको मुद्दा भएकाले दुवैको स्थगित भएको हो, अब अर्को हप्ता पेशी जान्छ’ उहाँले भन्नुभयो ।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीका मुद्दा एउटै प्रकृतिका भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश गरेको थियो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा उनीहरू दुवै जना थुनामा रहेका छन् । जोशी भैरहवा कारागारमा छन् भने लामिछाने केही समयअघि भैरहवाबाट नख्खु कारागारमा सारिएका छन् ।
बिगोबमोजिमको रकम बुझाइ थुनामुक्त भई बाहिरबाट मुद्दा लड्न अनुमति मागेका लामिछानेका निवेदनपछि उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो। त्यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो। सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच आज बहस हुने र त्यसपछि नै आदेश आउने सम्भावना रहेको भनिएपनि स्थगित भएको हो ।
जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दा सम्बन्धी फाइल सुरक्षित रहेको अदालतले जनाएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा हुन माग गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो। उक्त प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत निवेदनसहित पेस गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्