तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगर र चरेश सहित ३ जना पक्राउ 

कञ्चनपुर । कञ्चनपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कानूनी कारबाही अघि बढाइएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर १० सडक घाटबाट ५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर २ बङ्क बस्ने २६ वर्षीय प्रदीप ऐरी र वेदकोट नगरपालिका वडा नम्बर २ जडेपानी बस्ने २९ वर्षीय जनक बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले बागमती प्रदेश ०२ ०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ बाट ८४ ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थ सहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button