तपाईँ सुन्दै हुनुहुन्छः

उच्च हिमाली क्षेत्रमा नजान आग्रह 

काठमाडौँ । उच्च हिमाली क्षेत्रहरूमा अत्यधिक हिमपात भइरहेको भन्दै नेपाल पर्वतारोहण सङ्घले आरोहण दल तथा पदयात्रीहरूलाई उच्च हिमाली क्षेत्रहरूमा नजान आग्रह गरेको छ ।

सङ्घले आज सूचना जारी गर्दै उच्च हिमाली क्षेत्रमा रहेका आरोहण दल तथा पदयात्रीहरूलाई सुरक्षित स्थानहरूमा एकत्रित भएर रहन र उच्च हिमाली क्षेत्रमा पास क्रस नगर्न आग्रह गरेको छ । 

संघका अध्यक्ष फुर गेल्जे लामाद्वारा जारी गरिएको सूचनामा उच्च हिमाली क्षेत्रको यात्रामा रहेकाहरूलाई नेपाल पर्वतारोहण संघ तथा ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन र सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई आ–आफ्नो आरोहण दलहरू तथा पदयात्रीहरूको सुरक्षाका लागि समन्वय गर्न अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनहरूमा पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि भारी हिमपात हुने सम्भावना रहेको जनाएकाले उक्त क्षेत्रहरूमा यात्रा गर्नुपूर्व थप सतर्कता अपनाउन पनि सूचना मार्फत आग्रह गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button