नलगाड–मैनतडा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान
सुर्खेत । सरकारले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि नलगाड–मैनतडा प्रसारण लाइन निर्माणलाई अनुमति दिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चालु आर्थिक वर्षमा काम शुरु हुने गरी प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको हो । सुर्खेतको समृद्धिका लागि महत्वपूर्ण मानिएको नलगाड–मैनतडा विद्युत् प्रसारणलाइन ७५ किलोमिटर लामो रहेको छ ।
कुल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । लामो समयदेखि अलपत्र परेको यो प्रसारणलाई राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्दैछ । उक्त प्रसारणलाई तथा सव–स्टेशन निर्माणका लागि १५ अर्ब रकम लाग्ने अनुमान गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–७ स्थित दानीपिपलमा ४०० केभीको पावरहाउस र सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा प्रसारणलाईको सव–स्टेशन निर्माण गरिने राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सागर श्रेष्ठले जानकारी दिनु भयो । उहाँले नलगाड नगरपालिका–७, दानीपिपलमा ४०० केभी प्रसारणलाई निर्माणका लागि जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको बताउनु भयो ।
विभागले हालसम्म कुल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ । यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसार लाइनसँगै सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजनाको समेत काम अघि बढ्ने भएको छ । विभागले हालसम्म कुल १४४ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्