तराई–मधेसमा छठको तयारी भव्य रुपमा
वीरगञ्ज । दीपावलीको समापनसँगै तराई–मधेसमा आस्थाको महान् पर्व छठ को तयारी भव्य रुपमा सुरु भएको छ । सूर्य भगवान् र छठी माताको आराधनाका रूपमा मनाइने यो पर्वको अवसरमा यहाँका पोखरी, नदी र तलाउहरूमा पूजाका लागि सरसफाइ, घाट निर्माण र सजावटको काम तीव्र गतिमा अघि बढाइएको छ ।

जलाशयमै अर्घ्य र व्रत अनुष्ठान सम्पन्न गर्ने परम्परा भएकाले विभिन्न छठ घाटहरूमा माटो सम्याउने, बाँस–काठको संरचना तयार पार्ने, बाटो मर्मत गर्ने र रंगोलीसहित आकर्षक बत्ती तथा पण्डाल निर्माणको काम भइरहेको छ । छठ पूजा समितिहरूले सुरक्षा, ध्वनि प्रणाली र स्वच्छ पानीको व्यवस्था पनि प्राथमिकताका रूपमा अघि बढाएका छन् ।
नेपालकै प्रमुख छठ स्थलका रूपमा चिनिने वीरगञ्जको घडिअर्वा पोखरी छठ घाटलाई सजाउने कार्य तीव्र रुपमा भइरहेको छ । छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह का अनुसार यस वर्ष घडिअर्वा छठमा मात्रै व्यवस्थापन र सजावटका लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

ग्रामीण भेगमा समेत गाउँ–गाउँमा स्थानीय युवाहरू, स्वयंसेवक र समुदायका सक्रिय सहभागितामा पोखरी तथा नदी किनारमा छठ घाट निर्माण, पण्डाल सजावट र प्रकाश व्यवस्थापनमा व्यस्त देखिन्छन् ।
चार दिनसम्म चल्ने छठ पर्व शुद्धता, संयम र आस्थाको प्रतीक मानिन्छ । व्रतालु महिलाहरूले पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा निभाउँछन् । व्रतालुहरू उपवास, स्नान, डुबुल्की र सूर्य आराधनाका कठोर नियमहरू पालना गर्दै पूजाअर्चना गर्छन् ।
यो पर्व कार्तिक शुक्ल पक्षको चतुर्थी तिथिदेखि सुरु भएर सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न हुन्छ । यस वर्ष छठ पर्व कार्तिक १० र ११ गते मनाइने भएको छ ।
छठका चार चरणमा पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समाप्त गर्ने परम्परा रहेको छ ।
दीपावली सकिए लगत्तै बजारहरूमा पूजन सामग्री, फलफूल, कपडा, भाँडाकुँडा, तेल, मसला र खाद्यान्न खरिद गर्न उपभोक्ताको भीड बढेको छ । वीरगञ्ज, कलैया, सिमरा, गौर लगायतका सहरहरूमा छठका लागि चाहिने वस्तुहरू किन्न सर्वसाधारणको भीड लागेको छ ।








प्रतिक्रिया राख्नुहोस्