दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
कञ्चनपुर। यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पुल निर्माणको कुल लागत अनुमान रु २४ करोड ७३ लाख ८० हजार रहेकामा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रू २४ करोड तीन लाख ९२ हजारमा ठेक्का सम्झौता भएको छ । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन ।
पुष मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आआर्थिक वर्षमा पुल निर्माणका लागि रु ४० लाख मात्रै विनियोजन भएकाले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाउनुभयो । पलको काम सम्पन्न गर्न अझै रु चार करोड आवश्यक पर्ने उहाँले बताउनुभयो ।
यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् । पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्