अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा भएका सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको आज अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको र आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको बताउनुभयो ।
आफ्नो निवासको सम्पत्ति पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको र घर पुनर्स्थापना गर्ने/नगर्ने भन्ने काम सरकारमा निहित रहेको ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले आन्दोलनका क्रममा अदालतका मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्ताबेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाइनु नेपालविरुद्धको भयावह षड्यन्त्र भएको बताउनुभयो ।
अवलोकनको क्रममा अध्यक्ष ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ताहरूको सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्