तपाईँ सुन्दै हुनुहुन्छः

तिहारको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदै

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि विधिपूर्वक लक्ष्मी पूजा सम्पन्न

काठमाडौँ । पाँच दिनसम्म मनाइने यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ देशभर ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरी मनाइँदैछ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानहरूमा सरसफाई गरी दीपावली गरिन्छ। आजको दिनलाई धनधान्यकी देवी लक्ष्मी आउने दिन मानिँदै घर आँगन सफा गरी दियो बाल्ने परम्परा रहेको छ।

आजै बिहान कुकुरको पूजा गरी मीठा परिकार खान दिइँदै कुकुर तिहार मनाइएको छ। आज बेलुकी औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना भने साँझ गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो।

यस वर्ष कात्तिक १ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो। दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो। दशैँपछि मनाइने यो दोस्रो ठूलो पर्व उज्यालोको चाडका रूपमा पनि चिनिन्छ। तिहार लागेसँगै देशभरका शहर बजार झिलिमिली भएका छन्।

यसैबीच, आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि विधिपूर्वक लक्ष्मी पूजा सम्पन्न गरिएको छ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि विधिपूर्वक लक्ष्मी पूजा गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button