तपाईँ सुन्दै हुनुहुन्छः

न्यूजील्याण्डको वार्षिक मुद्रास्फीति ३ प्रतिशतमा सीमित

वेलिङ्टन । न्यूजील्याण्डको वार्षिक मुद्रास्फीति सन् २०२५ को सेप्टेम्बर त्रैमासिक अवधिसम्ममा ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो जुन त्रैमासमा २.७ प्रतिशत थियो । यो दर रिजर्भ बैङ्क अफ न्यूजील्याण्डले तोकेको १ देखि ३ प्रतिशतको लक्ष्य सीमा भित्रको उच्चतम बिन्दुमा पुगेको हो । स्ट्याट्स एनजेडका अनुसार, यो दर सन् २०२४ को जुन त्रैमासपछिको सबैभन्दा उच्च हो, जब मुद्रास्फीति ३.३ प्रतिशत पुगेको थियो ।

मूल्य वृद्धिमा सबैभन्दा ठूलो योगदान आवास र घरेलु उपयोगिता समूहको रहेको छ, जसमा विद्युत्, घरभाडा र स्थानीय निकायका करहरू मुख्य कारक बनेको छ । यी वस्तुहरूको संयुक्त प्रभावले उपभोक्ता मूल्य सूचकाङ्कको करिब १७ प्रतिशत हिस्सा ओगटेको छ ।

विद्युत् दरमा वार्षिक रूपमा ११.३ प्रतिशतले वृद्धि भएको छ, जुन १९८९ को मार्च यता कै सबैभन्दा ठूलो वृद्धिदर हो । यसैबीच, औषधि, टेलिकम उपकरण र पेट्रोलको मूल्य घट्दा समग्र मुद्रास्फीति थोरै सन्तुलित भएको देखिएको छ ।

त्रैमासिक रूपमा हेर्दा, उपभोक्ता मूल्यहरू जुन त्रैमासको तुलनामा सेप्टेम्बर त्रैमासमा एक प्रतिशतले बढेका छन् । यो मुख्य रूपमा स्थानीय निकाय कर वृद्धि र मौसमी कारणले तरकारीको मूल्य १२.२ प्रतिशतले बढ्नुका कारण हो ।

कार्यवाहक अर्थमन्त्री क्रिस बिशपले आगामी सन् २०२६ को पहिलो छ महिनाभित्र मुद्रास्फीति २ प्रतिशततिर झर्ने अपेक्षा गरिएको बताउनुभएको छ, जसले उपभोक्ता र व्यवसायमा परेको आर्थिक दबाब घटाउने विश्वास व्यक्त गरेका छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button