तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान बेलौरी नगरपालिका वडा नम्बर-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट बेलौरी नगरपालिका वडा नम्बर-३ बुटाबारी बस्ने ६५ वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्यको शवलाई उहाँका छोरा निर्मल आचार्यले सनाखत गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बिहान करिब ८ बजेतिर स्थानीयले बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडक खण्डमा बेवारिसे अवस्थामा एउटा साइकल देखेपछि प्रहरीलाई जानकारी गराउनु भएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गर्दा उक्त सडकबाट करिब २०० देखि २५० मिटर टाढा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button