मोबाइल अस्पताल सञ्चालन गर्दै कोशी प्रदेश
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी मोबाइल अस्पताल सञ्चालनको अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयको पाँचौँ सभालाई सम्बोधन गर्दै यसका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग समझदारी भएको उहाँले जानकारी दिनुभयो । ‘घुम्ती गाडीमा चिकित्सा उपकरण र जनशक्तिसहित प्रदेशका विभिन्न जिल्लामा गएर नागरिकको स्वास्थ्य परीक्षण हुनेछ । रेफर गर्नुपर्ने भए अस्पताल पठाइने छ ।’ उहाँले चिकित्सा उपकरण सहितको सवारी साधन खरिद अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले पहिले परीक्षण स्वरूप तराईका जिल्लामा सञ्चालन गर्ने र आवश्यकता अनुसार पहाडी क्षेत्रमा समेत सेवा दिने सरकारको तयारी रहेको सुनाउनुभयो । उहाँले धनकुटा अस्पताल सय बेडको बनाएर त्यहाँ बीपी प्रतिष्ठानका चिकित्सकलाई साप्ताहिक र आवासीय रुपमा राखेर स्वास्थ्य सेवा दिने विषयमा समेत समझदारी भएको बताउनुभयो ।
मनमोहन विश्वविद्यालयले अनुसन्धानमूलक कार्यमा बढी ध्यान दिनुपर्ने सुझाव दिँदै आउने वर्षबाट सोझै बजेट पठाउने प्रबन्ध गरिने समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्