भन्सार छलीको ७ करोड मूल्य बराबरको सामान बरामद
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा भन्सार छली (तस्करी) का करिब ७ करोड रुपैयाँ मूल्य बराबरको मालसामान बरामद गरी भन्सारमा बुझाएको छ ।
असोज महिनामा मात्रै जिल्लाका विभिन्न स्थानबाट भन्सार राजस्व छलेर भित्र्याइएका ६ करोड ९७ लाख ६२ हजार ३२१ रुपैयाँका मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै असोज महिनामै लागू औषध गाँजा ४३ किलो ९०० ग्राम, चरेस ११ किलोग्राम,खैरो हेरोइन ३१ ग्राम ८८० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार, असोज महिनामा विभिन्न अपराध र कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार रही लुकेर बसेका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज पहिलो सातादेखि जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक पाठकले जिल्लाको शान्ति सुरक्षासँगै भन्सार चोरी निकासी (तस्करी) नियन्त्रण आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभयो ।
पर्सा प्रहरीको नेतृत्व सम्हाले लगत्तै आफूले प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार पर्सा जिल्लामा रहेका मातहतका इलाका प्रहरी कार्यालयका इन्चार्जहरुसंग १ वर्षको लागि लिखित रूपमै कार्यसम्पादन सम्झौता गरेको समेत उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्