मधेशका मुख्यमन्त्री सिंह आज जनकपुरधाममा विश्वासको मत लिँदै
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिन लाग्नुभएकाे छ। विश्वासको मतको प्रक्रिया आज दिउँसो १ बजे सुरु हुने मधेश प्रदेश सभाको बैठकमा अघि बढाइनेछ।
गत शुक्रबार मुख्यमन्त्री सिंहले प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक वातावरण तयार गरिदिन अनुरोध गर्नुभएकाे थियाे। सो अनुरोधअनुसार सभाका सचिव वासुप्रसाद कोइरालाले आजको बैठक बोलाइएको जानकारी दिनुभएकाे छ ।
मुख्यमन्त्री सिंहले भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किएको बेला फेसबुकमार्फत राजीनामा घोषणा गर्नुभएकाे थियाे । उहाँले त्यसबेला ‘विषम परिस्थितिमा जनधनको क्षति नहोस्’ भन्ने हेतुले उक्त निर्णय लिएको बताउनुभएकाे थियाे। तर, पछि अन्तरिम सरकार गठनपछि उहाँले आफ्नो भनाइ फेर्नुभएकाे थियाे।
यसैबीच, सिंहको पार्टी जनमतले भदौ ३१ गते प्रदेश सभाका सभामुखलाई पत्र बुझाउँदै मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरिसकेको छ। संविधानअनुसार समर्थन फिर्ता गरिएको मितिबाट ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार सिंहले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
प्रतिक्रिया राख्नुहोस्