बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग अन्तरक्रिया सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास एवम् प्रवद्र्धन तथा बीमा क्षेत्रलाई दीर्घकालीन रूपमा स्थापित गर्नका लागि बीमाङ्कीय ज्ञान तथा बीमाङ्कीय जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारीले बीमाङ्की विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्वेक्षणको नतिजा प्रस्तुत गर्नुहुँदै समग्र बीमा क्षेत्रमा बीमाङ्की विश्लेषकहरूको सहभागिता बढ्दै गएको जानकारी दिनुभयो ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पुँजीको कार्यान्वयन, जोखिममा आधारित पुँजीमा आर्थिक वर्ष २०८१।८२ मा अद्यावधिक भएका व्यवस्था र प्रतिवेदन पेश गर्दा बीमकहरूले ध्यान दिनुपर्ने विषयमा प्रस्तुती गर्नुभयो ।
एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूको ज्ञान, सीप र क्षमता विकासमा सहयोग गर्न सोसाइटी तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बीमाङ्की विश्लेषकहरूले आआफ्ना कार्य अनुभव, विद्यमान चुनौती र नियामकीय सहयोग लगायतका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा एक्चुरियल सोसाइटी अफ नेपालका पदाधिकारी तथा सदस्यहरू र बीमा विश्लेषकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुधा काफ्लेले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्