सूचना नदिएको भन्दै जेनजी युवाद्वारा सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा जेनजी समूहले तालाबन्दी गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना नदिएको भन्दै जेनजी युवाहरूले शुक्रवार दिउँसो ३ बजे तालाबन्दी गरेका हुन् ।
शुक्रवार नै हुने भनिएको सार्वजनिक सुनुवाइ कार्यक्रम पनि स्थगित भएको थियो । आफूहरूले माग गरेको सूचना लुकाएर गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेपछि तालाबन्दी गरेको जेनजी समूहका अगुवा विशाल भट्टले जानकारी दिनुभयो ।
“हामीले पटक पटक सूचना माग गर्यौ, तर उपलब्ध गराएन, सूचना लुकाएर कार्यक्रम गर्न पाइँदैन, हाम्रा माग सार्वजनिक गर, अनि कार्यक्रम अघि बढ्छ” भट्टले भन्नुभयो ।
जेनजी समूहले विज्ञप्तिमार्फत आफ्ना मागहरू अघि सारेका छन् । गाउँपालिकामा सञ्चालित योजना, कार्यपालिकाका निर्णय, बजेट र कार्यक्रमहरूको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने, अनियमितता र भ्रष्टाचारको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने, प्रत्येक वडाहरूमा नागरिक र युवा सहभागितासहित संवाद गरेर अघि बढ्नुपर्ने मुख्य मागहरू अघि सारिएको छ । यी मागहरू सम्बोधन नभएसम्म तालाबन्दी कायम राखिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युवाहरूले गाउँपालिकामा तालाबन्दी गरेपछि सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरिएको गाउँपालिका अध्यक्ष अमर बहादुर कुँवरले जानकारी दिनुभयो ।
गत जेठमै पालिकामा भए गरेका गतिविधिका बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताउनुभयो ।
कार्यपालिकाका निर्णयहरू, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घर भाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाख बढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि निवेदन पेस गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्