धनुषाका आधा दर्जन पालिकाको सभा नभएपछि कर्मचारी र शिक्षक तलबबाट वञ्चित
जनकपुरधाम । धनुषा जिल्लाका आधा दर्जन पालिकाहरूको सभा नभएका कारणले कर्मचारीहरूले हिन्दुहरूको महान् चाडपर्वको समयमा तलब भत्ता पाउनबाट वञ्चित भएका छन् ।

जिल्लाको मिथिला, क्षिरेश्वरनाथ, कमला, हंशपुर नगरपालिका तथा औरही गाउँपालिकाको नगर र गाउँ सभा नभएका कारणले कर्मचारीहरूले दशैं जस्तो ठूलो पर्वमा तलब भत्ता नपाएको गुनासो गर्नुभएको हो । पालिकामा कार्यरत रहेका कर्मचारीका अतिरिक्त सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षकहरूले पनि तलब भत्ता नपाएपछि चाडपर्व नै खल्लो भएको बताउनुभयो ।
पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले ती पालिकाहरूको सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिनुभयो । आफ्नो पहलका कारण आधा दर्जन पालिकाको सभा भए पनि अझै आधा दर्जनको बाँकी रहेको उहाँले बताउनुभयो ।
खास गरेर धनुषाका अधिकांश पालिकाहरूमा कुनै एक दलको बहुमत नभएको कारणले योजनाहरूको बाँडफाँड तथा सञ्चालनका लागि हुने गरेको आर्थिक श्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ ।
यसै बीच धनुषाका क्षिरेश्वरनाथ नगरपालिकाका कर्मचारी तथा शिक्षकहरूले तिहार वा छठमा पनि तलब भत्ता नपाइए आन्दोलनमा उत्रने जनाएका छन् ।
स्थानीय शासन ऐन अनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्ता सहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानूनी प्रावधान रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्