तपाईँ सुन्दै हुनुहुन्छः

जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले आज एक भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, “हामीले पीडित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम अघि ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ ।”

नेपालका जेनजी युवाले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले युवाले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात् गर्न जरुरी रहेको बताउनुभएको छ । “हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “युवापुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ ।” प्रधानमन्त्री कार्कीले विगतका सरकारले युवाको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने स्पष्ट पार्नुभएको छ । “एकातिर हाम्रा युवामा निराशा व्याप्त छभने अर्कातर्फ देशप्रति उत्कट प्रेम । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

सरकारले पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हामी युवापुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ भन्नुभएको छ । “यसका लागि हामी सबै युवा सचेत हुन जरुरी छभने राजनीतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरुरी छ”, प्रधानमन्त्रीले भन्नुभएको छ । प्रधानमन्त्री कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्नुभएको छ । “दुःखद् घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ”, प्रधानमन्त्रीको कथन छ ।

वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाको सपना साकार पार्न र समृद्ध नेपाल बनाउन ठोस कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको छ । “हामी शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्मको प्रयास गर्नेछौँ । मलाई आशा छ, सङ्कटको यो घडीमा हामी सबै एक भएर अघि बढ्नेछौँ”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button