‘हुलाक सेवालाई समय सापेक्ष परिष्कृत गरिनुपर्नेमा जोड’

सुर्खेत । हुलाक सेवालाई समय सापेक्ष परिष्कृत गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
विश्व हुलाक दिवसका अवसरमा हुलाक निर्देशनालय सुर्खेतले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाले हुलाक सेवालाई बद्लिँदो युग अनुरुप परिष्कृत गर्न आवश्यक रहेको औँल्याएका हुन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले हुलाक सेवाको आवश्यकता अझै बढेकाले हुलाक सेवालाई समयानुसार परिष्कृत गर्दै लैजानुपर्ने बताउनु भयो । उहाँले हुलाक सेवालाई छिटो, छरितो र विश्वासिलो बनाउँदै सेवाग्राहीको आवश्यकतामा आधारित प्रविधिमैत्री सेवाहरूलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनु भयो ।
कार्यक्रममा हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले परिवर्तित समयमा हुलाकले दिँदै आएका सेवा परिवर्तन गर्दै लगेको बताउनु भयो । उहाँले सूचना प्रविधिको विकासले फड्को मारे पनि हुलाक सेवाको प्रभावकारिता कायमै रहेको जनाउनु भयो । हुलाकले गर्ने व्यक्तिगत काम कम भए पनि बैङ्क तथा वित्तीय संस्थाका कामको चाप बढेको उहाँको भनाइ थियो । हाल हुलाकले स्वास्थ्यका रिपोर्ट बोक्ने, राहदानी पुर्याउने, राष्ट्रिय परिचय पत्र र मालपोतको स्रेस्ता बोक्ने लगायतका काम गरिरहेको छ ।
हुलाकका हाल सात वटै प्रदेशमा निर्देशनालय र सात सय ५३ वटै स्थानीय तहमा स्थानीय हुलाक कार्यालय रहेका छन् । दिवसकै अवसरमा हुलाक निर्देशनालयले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताका विजयी छात्राहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै निर्देशनालयले उत्कृष्ट कर्मचारीसँगै हालै सेवा निवृत्त भएका कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्