झापामा २०७४ यताकै ठूलो बाढी, ३५ सय परिवारका हजारौँ मानिस विस्थापित
भद्रपुर, झापा । अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीले झापामा निकै ठुलो क्षति पुर्याएको छ। जिल्लाका ठूला नदीहरूमा आएको बाढीका कारण करिब ३५ सय घरधुरीका १२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
झापामा यस वर्ष २०७४ पछिको सबैभन्दा ठूलो बाढी आएको बताइएको छ । शनिबार र आइतबार इलाम र झापामा १५० मिलिमिटरभन्दा बढी पानी पर्दा कनकाई माई र मेची नदीले खतराको लेभल नै पार गरेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार कनकाईको जलस्तर ५.६१ मिटर पुगेको थियो । कनकाईको सचेतनास्तर ३.८ मिटर र खतरा स्तर ४.३ मिटर हो । कनकाईको जलस्तर २०७४ सालमा ५.४ मिटर पुगेकोमा यस वर्ष त्यसलाई समेत नाघ्दा क्षति धेरै भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनु भयो ।

कनकाई माई नदीमा आएको बाढी तटीय क्षेत्रका बस्तीहरूमा छिर्दा त्यहाँका सयौँ घर डुबानमा परेका छन् । झापा गाउँपालिका १, २ र ७ वडाका मात्रै करिब १५ सय घरका ६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
झापा १ मिलन बस्तीका ८० घरका २ सय मानिसलाई नेपाली सेनाको हेलिकोप्टर र चारवटा बोटले उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण शिवसताक्षी नगरपालिका–४ का ७ घर, शिवसताक्षी–५ का ५ घर, शिवसताक्षी–६ का २७ घर, शिवसताक्षी–७ का ८ घर, गौरीगञ्ज गाउँपालिका–१ का १४४ घर, गौरीगञ्ज गाउँपालिका–२ पिण्डलघुटुका २१ घर, गौरीगञ्ज–२ आपगाँछीका २१ घर, गौरादह–५ कटकपुर सुकुम्बासी बस्तीका ३१ घर, भद्रपुर नगरपालिका–५ देवीबस्तीका १२ घर, भद्रपुर–५ राई टोलका १५ घर र अर्जुनधारा नगरपालिका–७ का एक घर विस्थापित भएका छन् ।
झापामा बाढीमा परी हालसम्म एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तटबन्ध कटान गर्दा करिब ११ करोडको क्षति
कनकाई नदीले गौरीगञ्ज गाउँपालिका–२ अन्तर्गत हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ । तटबन्ध कटान गर्दा होकलबारी गाउँको करिब ११४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार १ हजार ५०० मिटर तटबन्ध कटान गर्दा करिब १० करोड बराबरको क्षति भएको जनाएको छ ।
त्यस्तै झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ। यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको छ। मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरू भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।
सानो माईखोलाको पुल भत्कियो
झापा गाउँपालिकास्थित सानोमाई खोलाको पुल बाढीले भत्काएको छ । बाढीले पुल भत्काउँदा झापा बजार, मिलन बस्ती तथा सुगाबथान जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध बनेको छ । झापा बजारबाट पश्चिमपट्टि हुलाकी राजमार्गमा रहेको पक्की पुल भत्किएको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्