अविरल वर्षाले सर्लाहीमा करोडौँको क्षति

सर्लाही । अविरल वर्षाले सर्लाहीमा करोडौँको क्षति भएको छ । वर्षाले अधिकांश किसानको धान, तथा नगदे बालीमा क्षति पुर्याएको छ । नगदे बाली अन्तर्गत दल्हण र उखु बालीमा पनि ठुलो क्षति भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ का किसान लालबाबु ठाकुरको ८ कट्ठाको पाकेको धान पानीमा नष्ट हुन लागेको छ । त्यस्तै अर्का किसान रमेश यादवको १ बिगाहा उखु बाली पानी सँगै आएको हुरीले क्षति गरेको छ । यसैगरी सर्लाही भरिनै हजारौँ किसानको बालीमा क्षति पुगेको छ ।
यसैगरी दुई दिन देखिको अविरल बर्षाले सर्लाही जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । लखन्देहीको बाढीले बाँध भत्काउँदा सर्लाहीमा ४ सयभन्दा बढी घर डुबानमा परेको छ ।
शनिबार रातिदेखिको अविरल वर्षाका कारण बस्ती, खेत, सरकारी कार्यालय, प्रहरी चौकी र पुलमा क्षति भएको छ। प्रहरी, सेना र स्थानीयको सहयोगमा उद्धार तथा व्यवस्थापन भइरहेको प्रशासनले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार गोडैता नगरपालिका – ८ मा प्रहरी चौकी गोडैताको पूर्वपट्टि रहेको करिब २० फिट लम्बाइ र ६ फिट उचाइको पर्खाल भत्किएको छ। त्यस्तै, कबिलासी नगरपालिका–८ अगर्वामा गैरी खोलामा नयाँ पुलमा पानी जम्दा १४ घरमा पानी पसेको छ। मलंगवाबाट ल्याइएका उपकरण प्रयोग गरी पानी निकास गरिएको छ। कबिलासी नगरपालिका–४ हेमपुरमा समेत पानी जम्दा स्थानीयको सहयोगमा होमपाइप हटाएर निकास खोलिएको बताइएको छ।
चन्द्रनगर गाउँपालिका–५ मोहनपुरमा मोहनपुर चौकी नजिकै ७ फिट उचाइ र १५ फिट लम्बाइको कम्पाउण्डवाल भत्किएको छ। कौडेना गाउँपालिका–६ सक्रौल र–७ शिवनगर क्षेत्रमा लखनदेही खोलाले बाँध कटान गर्दा बस्तीमा पानी पस्न थालेपछि स्थानीयलाई माइकिङ गरेर सुरक्षित स्थानतर्फ सारिएको छ। कौडेना–३ मा खोलाको पानी खेतमा पस्दा छपकैयामा पनि जोखिम रहेको प्रशासनले जनाएको छ।
यस्तै, कबिलासी नगरपालिका–२ पिपरियामा पर्खाल भत्किँदा सुधरी दनुवारकी ९ वर्षीया छोरी शिवानी घाइते भएकी छिन् । उनको खुट्टा भाँचिनुका साथै टाउकोमा चोट लागेको छ। उनको स्थानीय अस्पतालमा सामान्य उपचारपश्चात् जनकपुरस्थित गोदावरी अस्पतालमा रेफर गरिएको छ ।
हरिपुर नगरपालिका–११ मा ३०÷४० घर वरिपरि पानी पस्दा प्रहरी र सेनाको टोली परिचालित भई जेसिभी प्रयोग गरेर नाला सफा गरिएको छ । अहिले अवस्था सामान्य भएको प्रशासनले जनाएको छ । चक्रघट्टा गाउँपालिका–५ मा १७÷१८ घर डुबानमा परेका छन् भने ईलाका प्रहरी कार्यालय चक्रघट्टा कार्यालयमा समेत पानी पसेको छ।
यसैगरी, मलंगवा नगरपालिका–८ गोरखकालीमा प्रहरी चौकी, भन्सार कार्यालय र प्रहरी बिट परिसरमा पानी जमेको छ।बरहथवा नगरपालिका–७ डोमटोलमा सोती खोलाको बहाव बढ्दा १०/१२ घरमा पानी पसेको छ भने स्थानीय बजार क्षेत्रमा आश्रय लिएका छन्। बसबरिया गाउँपालिका–२ धपटोलमा बाढीले स्थानीय ५५ वर्षीय रामसूरत सहनी र उनकी पत्नी गोठमा फसेका थिए, उनीहरुलाई प्रहरीले स्थानीयको सहयोगमा सुरक्षित उद्धार गरेको छ।
यस्तै, बरहथवा नगरपालिका–१६ टिकुलियामा खोलाको पानी पस्दा पासवान र यादव बस्ती प्रभावित भएका छन् । धनकौल गाउँपालिका–३ हरकठवा र मैनाथपुरमा मनुस्मारा खोलाको पानी पस्ने सम्भावना रहे पनि तत्काल अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ। यसै क्रममा रौतहटतर्फ जाने धरमपुर जोड्ने सडक करिब २ किलोमिटर लामो खण्डमा अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा उद्धार तथा व्यवस्थापन कार्य भइरहेका छन्। बाढी र वर्षाका कारण थप क्षति हुन नदिन सतर्कता अपनाइएको र अवस्था क्रमशः सामान्यतर्फ फर्किरहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्