तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी जागिर छाडेर किवी खेतीतर्फ : इलामका देउ कुमारको प्रेरणादायी सङ्घर्ष र सफलता

इलाम । १८ वर्ष ब्रिटिस सेनामा सेवा गरेपछि स्वदेश फर्किएका देउ कुमार राईले इलाममा किवी खेतीलाई रोज्नुभयो। सन् २०७० सालमा सुरु गरिएको खेतीमा सुरुवाती दिनहरूमा उहाँले धेरै चुनौती भोग्नुपर्‍यो। परागसेचन नहुँदा किवीमा फल नलाग्ने, दक्ष कामदारको अभाव, रोग कीराको समस्या र घाटाका बाबजुद पनि उहाँले हिम्मत हार्नुभएन ।

२०७८ सालमा पहिलो पटक आफ्नै बगैँचामा फल लागेपछि उहाँको मेहनतले सार्थकता पायो। अहिले ‘माईपोखरी हर्बल अर्ग्यानिक एग्रिकल्चर फर्म प्रा.ली.’ को माध्यमबाट उहाँले गोल्डेन र ग्रिन दुवै जातका किवी उत्पादन गरिरहनुभएको ।  प्रति रोपनी गोल्डेन किवीबाट १००० किलो र ग्रिन जात ‘एलीसन’ किवीबाट ७०० किलो उत्पादन भइरहेको छ।

बजार मूल्य अनुसार ग्रिन किवी चैत्रमा प्रतिकिलो ४०० रुपैयाँसम्म पुग्ने गरेको छ भने गोल्डेन किवी दसैँ आसपास २००–३०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ। राईका अनुसार किवी खेतीमा अझै प्रविधि, ढुवानी, भन्सार र कामदारको अभाव चुनौती बनेका छन्। “सङ्घर्ष गर्नेलाई सफलता ढिलो भए पनि पक्कै भेटिन्छ,” राई भन्नुहुन्छ, “नेपालमा किवी खेतीले किसानलाई आत्मनिर्भर बनाउन सक्छ।”

उहाँको कथा आजको युवा पुस्ताका लागि प्रेरणादायी मात्र नभई, नेपालको कृषि सम्भावनालाई समेत उजागर गर्ने उदाहरण बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button