कञ्चनपुरमा तीन अलगअलग घटनामा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानमा सोमबार बिहानदेखि दिउँसोसम्म भएका अलगअलग घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पुनर्वास नगरपालिका नगरपालिका वडा नम्बर १० देरालीटोल बस्ने ५५ वर्षीया करडी देवी रावतलाई आफ्नै घरमा टेबल पङ्खा विद्युत् प्लगमा जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको छ । सोमबार मध्यान्ह भएको उक्त घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
त्यसैगरी कृष्णपुर नगरपालिका वडा नम्बर ४ मौवाफाँटामा धन सिंह विककी १५ वर्षीया छोरी सन्ध्या विकलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले बायाँ हातमा टोकेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । हाल उनको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ६ रिछाहा बस्ने ४० वर्षीय राधेश्याम रानाले हँसियाले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन् । खेतमा काम गर्ने क्रममा साइकलमा राखिएको हँसियाले घाँटी काटेको अवस्थामा फेला परेका उनलाई ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यी सबै घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्