संयोजक प्रचण्डद्धारा विजया दशमिको शुभकामना
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
विजयादशमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले स्वदेश तथा देशबाहिर रहेका सम्पुर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।
शुभकामना सन्देशमा उहाँले यतिबेला नेपाली जनताका महान् सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा रहेको उल्लेख गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएकोले यो परिस्थितिमा जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध रहेको शुभकामना शन्देशमा उल्लेख रहेको छ ।
प्रचण्डले आफ्नो पार्टीले जेनजिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गरी सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्नुभएको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेनजी सहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृहकार्य भइरहेको प्रचण्डले बताउनुभएको छ ।
वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दसैँजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास गर्दै उहाँले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास लिँदै दशैं लगायतका पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्प सहित मनाउन आह्वान समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्