पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका राउतलाई
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा शनिबार सम्पन्न भएको दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता २०८२ को उपाधि नरेन्द्रसिंह राउतले जित्नुभएको छ । सुदूरपश्चिमका राउतले निर्धारित ८ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पार्नुभयो ।

सुदूरपश्चिमकै करन राउत दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो हुनुभयो । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेन्ड लगाएको प्राविधिक प्रमुख ओमबहादुर गुरुङले बताउनु भयो । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
यसैगरी, गौतम श्रेष्ठ चौथो हुँदै ७ हजार हात पार्दा पाँचौँ भएका सफल लामाले ३ हजार प्राप्त गर्नुभयो । त्यसै गरी छैटौँदेखि दशौँसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङलाई आउन सफल हुँदा उहाँहरूलाई जनही १ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरियो ।
विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेट (४९ः५१ मिनेट) प्रथम हुँदा भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम हुनुभयो । किशोरले ५१ः०१ मिनेटमा दूरी पूरा गर्नुभयो । उहाँहरूले जनही १५ हजार प्राप्त गर्नुभयो ।
दौडको सुरुआत प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछानेले गर्नुभएको थियो । त्यसअघि, प्रतियोगिता संयोजक दीननाथ बरालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पोखराको पर्यटन तथा खेलकुदको विकासमा यो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्