लुम्बिनी प्रदेशकै ठुलो अस्पतालद्वारा सेवा आरम्भ
दाङ । लुम्बिनी प्रदेशकै निजी क्षेत्रको लगानीमा अत्याधुनिक अस्पताल सञ्जीवनी शिक्षण अस्पतालले आजदेखि औपचारिक सेवा सुरु गरेको छ।
नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्स चलाइरहेका खुमाप्रसाद अर्यालको एकल लगानीमा स्थापना भएको हो ।हालसम्म करिब चार अर्ब रुपैयाँ लगानी भएको अस्पतालले जनाएको छ। दाङ लगायत साविक राप्ती अञ्चलका पहाडी जिल्लामा ५० बेडभन्दा बढी क्षमताको अस्पताल नभएकाले घोराहीमा स्थापना गरेको अर्यालको भनाइ छ।
शिक्षण अस्पताल सञ्चालन गर्नुअघि हामीले उपलब्ध स्वास्थ्य सेवाको अवस्था सर्भे गरेका थियौँ, अर्यालले भन्नुभयो । सर्भेको प्रतिवेदनका आधारमा स्वास्थ्य सेवा विस्तार गर्न शिक्षण अस्पताल खोलेका हौँ ।
सञ्जीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक रोकाका अनुसार पाँच बिघा क्षेत्रफलमा २०७८ सालमै निर्माण कार्य सुरु गरिएको थियो। भौतिक संरचना निर्माण सुरु गर्नुअघि स्वास्थ्य मन्त्रालयबाट मनसाय पत्र (लेटर अफ इन्टेन्ट–एलओआई) लिइएको थियो, उहाँले भन्नु भयो । यो अस्पतालले हाल तीन सय शय्याबाट सेवा सुरु गरेको छ। आगामी तीन वर्षमा पाँच सय शय्या बनाउने योजना छ।
सेवाका लागि आवश्यक ९० प्रतिशत उपकरण जडान भएको तथा डाक्टर, नर्स, फार्मासिस्ट र कर्मचारी गरी ८० प्रतिशत नियुक्ति पूरा भएको रोकाको भनाइ छ। हामीलाई चार सयभन्दा बढी कर्मचारी चाहिन्छन्। हाल तीन सय बढी कर्मचारी नियुक्त गरिसकेका छौँ। उपलब्ध भएसम्म स्थानीयवासीलाई प्राथमिकता दिएका छौँ ।

दाङबाट बाँके वा रुपन्देहीतिर बिरामी रेफरको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो शिक्षण अस्पतालले २०८३ सालमा स्टाफ नर्स, एचए (हेल्थ असिस्टेन्ट) , फार्मेसी र ल्याब लगायत कक्षा सुरु गर्ने योजना बनाएको छ। यी कक्षा चलाउन सिटिइभिटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) बाट सम्बन्धन प्राप्त गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
रोकाका अनुसार, हाल पाँच बिघा जगामा तीन तलाका नौ वटा भवनबाट सेवा सुरु गरेकाे र आसपासमा ११ बिघा जग्गा व्यवस्था गरेर थप संरचना निर्माण गर्ने चरणमा रहेको बताउनुभयो । हालका नौ वटा भवन एक तथा थपेर चार तलाको बनाउँछौँ,चाँडै विशिष्टीकृत सेवा सुरु गर्छौं। त्यसपछि मेडिकल शिक्षा सुरु हुन्छ। राेकाले बताउनुभयाे । उहाँका अनुसार नसा सम्बन्धी (न्युरोलोजी), मुटु सम्बन्धी (कार्डियोलोजी), मिर्गौला सम्बन्धी (नेफ्रोलोजी), पिसाब सम्बन्धी (युरोलोजी) र पेट सम्बन्धी (ग्यास्ट्रोलोजी) सेवा चाँडै सुरु हुनेछ।
रेडियोलोजी अन्तर्गत डिजिटल एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई लगायत बी श्रेणीका ल्याब छन्। मिर्गौला सम्बन्धी रोगीका लागि डायलासिस र मुटु सम्बन्धी रोगीका लागि क्याथल्याब सेवा पनि उपलब्ध छ। आपतकालीन (इमर्जेन्सी) सेवामा ५० शय्या छन्, चौबीसै घण्टा सेवा उपलब्ध हुने रोकाले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा आइसियु, एनआइसियू, पिआइसियू, एसआइसियू लगायत सेवाका ८० वटा बेड छन्। अस्पतालले विपन्न परिवारका बिरामीमध्ये १० प्रतिशतलाई राज्यको प्रावधान अनुसार छुट दिनेछ।
अस्पताल परिसरमा हेलिकप्टर अवतरण हुने सुविधा पनि छ, उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्