तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली । नेपालीहरूको महान् चाड बडादसैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।

सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली भारतका विभिन्न सहरबाट रोजगारी गरी फर्किएका छन् । प्रत्येक दिन सो नाकाबाट भित्रिनेको सङ्ख्यामा बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

डोटीका रमेश साउद सोही नाकाबाट घर फर्कनुभएको छ । लामो समयदेखि भारतको सुरतमा रोजगारी गर्दै आउनुभएका उहाँले चाडपर्व मनाउन घर फर्किएको बताउनुभयो । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको उहाँको भनाइ छ ।

भारतको बैङ्लोरबाट होटलमा जागिर गरिरहेका कैलालीका शिवराज धामीले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताउनुभयो । दिल्लीबाट रोजगारी गरी घर फर्कँदै गरेका बझाङका राजेन्द्र गिरीले पनि चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो ।

यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् । खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लाका युवा रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पन्जाब, अहमदाबाद लगायत ठूला सहरमा जाने गर्दछन् । भिसा आवश्यक नपर्ने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि यस क्षेत्रका अधिकांश नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button