बजार पुर्याउन नपाउँदा बगानमै केरा नष्ट
झापा । जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा झापामा बगानमै पाकेका केरा नष्ट भएको छ । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरूको गुनासो छ ।
भद्रपुर र गौरीगञ्जमा ८० बिगाहा क्षेत्रफलमा केरा खेती गर्नुभएका श्री गणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले रु २५ देखि ३० लाख मूल्यको पाकिसकेको केरा बजार पुर्याउन नपाउँदा बगानमै खेर गएको बताउनुभयो ।
यसपाली उत्पादन राम्रो भए पनि बजार पुर्याउन नपाएको उहाँको गुनासो छ । जेनजी प्रदर्शन सकिए पनि मनसुनी वर्षा र बजारको अन्योलका कारण अहिले पनि बगानमा पाकेका केरा ठूलो परिमाणमा नष्ट हुने जोखिम रहेको उहाँ बताउनुहुन्छ ।
झापामा उत्पादित केरा काठमाडौँ, विराटनगर, पोखरा, वीरगञ्ज, नेपालगञ्ज, धरान, इलामलगायतका जिल्लाबाहिरका बजारमा बिक्रीका लागि पुर्याउने गरिएको छ ।
कनकाई–३ र शिवसताक्षी–७ मा ७० बिगाहा क्षेत्रफलमा चिनी चम्पा र मद्रासी जातको केरा खेती गरिरहनु भएका बेनु पराजुलीले गत वैशाखमा हावाहुरीले पुर्याएको क्षतिको चोट नथाक्दै विषम् राजनीतिक परिस्थितिले २०० घरी पाकेको केरा बगानमै नष्ट भएको बताउनुभयो ।
यस्तै, झापा गाउँपालिका–३, ४, ६ र ७ मा ३० बिगाहा क्षेत्रफलमा केराको व्यावसायिक खेती गर्दै आउनुभएका चन्द्र बस्नेतको जेनजी प्रदर्शनका क्रममा रु १० लाख बराबरको क्षति भएको छ । उहाँका अनुसार प्रदर्शनकारीले बगानभित्रै पसेर केरा काटेर नष्ट गरिदिएका थिए ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जिल्लामा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भइरहेको बताउनु भयो । जिल्लामा वार्षिक ३८ हजार ८३३ मेट्रिक टन केरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्