तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङका भेडा-च्याङ्ग्रा पोखराबाट बिक्री हुन सुरु 

पोखरा ।  हिमालपारिको जिल्ला मुस्ताङबाट चाडपर्व लक्षित गरी भेडा-च्याङ्ग्रा पोखरामा बिक्री गर्न सुरु गरिएको छ । नेपालीहरूको महान् पर्व वडा दशैं तथा शुभ-दीपावलीको अवसरमा व्यवसायीहरूले पोखरामा भेडा च्याङ्ग्रा बिक्री वितरण गर्न सुरु गर्नु भएको हो ।

पोखरा २५ हेमजा सुइखेत देखि, बिष्णुपादुका विद्यालयको खेल मैदान हुँदै याम्दीसम्मको क्षेत्रमा हाल पहिलो चरणमा करिब ९ समूहले भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरामा ल्याउनु भएको हो । गत वर्षको तुलनामा यस बर्ष केही थोरै सहुलियतमा भेडा च्याङ्ग्रा बिक्री गर्न थालिएको एक व्यवसायी सुक बहादुर तामाङले बताउनु भयो । उहाँको टिमले यस बर्ष एक सय ४० वटा भेडा च्याङ्ग्रा मुस्ताङको घिलिङबाट पोखरामा बिक्रीको लागि बुधबार दिउँसो मात्र ल्याएको बताउनु भयो । मुस्ताङमा बाटोको कारण यस बर्ष जोमसोमबाट सिधै ९ घण्टामा पोखरामा ल्याइएको जसका कारण बाटोमा विभिन्न ठाउँमा लाग्ने कर समेत तिर्न नपरेको उहाँले हामीलाई बताउनु भयो । 

उहाँहरूले मुस्ताङमै प्रति भेडा-च्याङ्ग्रा ३९ हजार देखि ४१ हजारसम्म तिरेकोले पोखरासम्म ल्याएर प्रति भेडा-च्याङ्ग्रामा ३/४ हजार मात्र नाफा राखेर बिक्री गर्न लागेको उहाँले जनाउनु भयो । सम्झना फ्रेस हाउस समेत सञ्चालक गरेको उक्त टिमले तयारी भेडा-च्याङ्ग्राको प्रति केजी २ हजार १ सयमा बिक्री गर्न सुरु गर्नु भएको जनाउनु भयो । यसअघि ४/५ दिन समय लगाएर मुस्ताङ देखि बेनीसम्म भेडा- च्याङ्ग्रा हिँडाएर ल्याउने गरिन्थ्यो । 

त्यस्तै हेमजाका ऋषिराम पौडेल र झपट पौडेल दुई दाजुभाइले यस बर्ष १ सय ६५ वटा भेडा-च्याङ्ग्रा माथिल्लो मुस्ताङबाट हाल हेमजाको बिष्णुपादुका माविको खेल मैदानमा बिक्रीको लागि ल्याउनु भएको हो । उहाँको टिमले कागबेनीबाट ८ घण्टामा सिधै ट्रकमा राखेर भेडा-च्याङ्ग्रा पोखरामा बुधबार बेलुका मात्र ल्याउनु भएको हो । चार्ड पर्व लक्षित गरी पोखरा सहितको बजारमा यस बर्ष करिब १० हजार भन्दा बढी भेडा-च्याङ्ग्रा मुस्ताङबाट बाहिरिने भएको व्यवसायीहरूले बताउनु भयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले भेडा-च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्न सुरु गरेको छ । मुस्ताङबाट बाहिरिने भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर मात्र बाहिर पठाउने गरिन्छ । 

मुस्ताङको कोरोला नाका दशैं अगाडि नै खुलेका कारण पनि यस बर्ष अघिल्लो वर्षको तुलनामा बढी भेडा-च्याङ्ग्रा पोखरा सहितको अन्य बजारमा लैजाने व्यवसायीहरूले तयारी गर्नु भएको हो । 

हिमाली जडीबुटी खाएर हुर्केका भेडा-च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्रा खाने प्रचलन पहिला देखि चलिआएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button