मैवाखोलामा पहिरोले ११ घर विस्थापित, १२ घर उच्च जोखिममा
ताप्लेजुङ । केही दिन देखिको अविरल वर्षाले पहिरो जाँदा ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ११ घर विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार वडा नं ६ मा ८ घर,वडा नं २ मा २ घर र वडा नं ५ मा १ घर परिवार विस्थापित बनेका हुन । पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिएको अध्यक्ष वनेम बताउनहुन्छ । अनुगमनका क्रममा वडा नं ४ मा ५ घर र वडा नं ५ मा ७ गरी १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका समेत अध्यक्ष वनेमको भनाई छ । गत साता मात्र पालिकाको वडा नं ६ मा पहिरोले एक घर पुर्दा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइतेहरू सामान्य अवस्थामा फर्कन थालेको स्थानीयले बताएका छन् ।
पहिरोले पालिकाका ६ ओटा भन्दा बढीमा पुल, सडक खण्डहरूमा समेत क्षति पुर्याएको छ । पहिरोले वडा नं ४ र वडा नं ५ जोड्ने टिमुरे झोलुङ्गे पुल बगाएको छ भने वडा नं ५ को महादेव थान र कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको अध्यक्ष वनेमले बताउनुभयो । यता वडा नं ५ र ६ जोड्ने चिम्फाक रानीवन सडकको मुढे–च्यानडाँडा रानीवन साङलुप्पा सडकखण्ड, रानीवन–साम्तोङ सडक पनि अवरुद्ध भएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्