तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा सञ्चालनमा ढिलाइ

बाँके। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, बाँकेले आफ्नो नियमित सेवा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार कार्यालयको मुख्य प्रशासनिक भवन प्रयोगयोग्य छैन भने भित्र रहेका सबै कागजात जलेर नष्ट भएका छन्। हाल अस्थायी रूपमा अर्को भवनको कोठाबाट काम सुरु गरिएको भए पनि तत्काल सबै सेवाप्रवाह सम्भव नभएको उनको भनाइ छ।

आन्दोलनका क्रममा ध्वस्त भएका अन्य कार्यालयहरूमध्ये केहीले अस्थायी रूपमा सेवा सुरु गरेका छन्। नेपालगन्ज उपमहानगरपालिकाले कार्यालय परिसरमै टहराबाट आंशिक सेवा दिन थालेको छ। प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सरसफाइपछि जोगाइएका कागजात प्रयोग गरेर काम अघि बढाइएको जानकारी दिए।

यस्तै, उच्च अदालत नेपालगन्ज इजलास र जिल्ला अदालत बाँकेले बन्दी प्रत्यक्षीकरणलगायतका आवश्यक सेवा सुरु गरिसकेका छन्।

यसबीच बाँके प्रहरीले सरकारी तथा निजी कार्यालयमा आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिने काम सुरु गरेको छ। तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्न नागरिक समाजले पनि दबाब दिएको छ। प्रहरीले विध्वंसमा संलग्नलाई कुनै हालतमा नछोड्ने चेतावनी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button