विकास, आर्थिक मामिला समिति बैठक: असारभित्रै मन्त्रालय मातहतका सबै निकायमा पदाधिकारी नियुक्ति गरिने
काठमाडौँ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू, आयोग, परिषद् तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रुपमा काम भइरहेको जानकारी गराउनुभयो ।
सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तरवार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयलगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालयअन्तर्गतका सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्नेछन् ।
बैठकमा सांसदहरुले सरकारले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको बताउनुभयो ।
प्राज्ञिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभइ अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरुले सर्च कमिटीले सिफारिस गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्