आन्दोलनका कारण वीरगंजमा विश्वकर्मा पूजाको उत्साह देखिएन

वीरगंज । देशको प्रमुख आर्थिक केन्द्र तथा औद्योगिक नगरी वीरगंजमा आगामी असोज १ मनाइने यस वर्षको विश्वकर्मा पूजामा विगतका वर्षहरूजस्तो उत्साह देखिएको छैन ।
मुलुकभर जारी आन्दोलन, कर्फ्यु र हिंसात्मक घटनाको प्रभाव विश्वकर्मा पूजामा पनि परेको छ । विशेषगरी कलकारखाना, सवारीसाधन र उपकरणहरूमा पूजा गर्ने परम्परा रहेको यो पर्वमा व्यापारी र मजदुर दुवै प्रभावित भएका छन् ।
देशभर एक सातादेखि जारी बन्द र असुरक्षाको वातावरणले गर्दा बजार सुनसान भएको छ । व्यापारीहरूले पूजाका तयारी सुस्त भएको जनाएका छन् । वीरगन्ज प्रतिमा चोकका मेसिनरी व्यवसायीका राहुल साहका अनुसार, यसपालि मूर्ति नै नराखी साधारण पूजामा सीमित हुने निर्णय गरिएको छ । “न त व्यापार चल्यो, न मजदुरको लागि नयाँ कपडा किन्न सकिने स्थिति रह्यो,“ उहाँले गुनासो गर्नुभयो ।
मुर्ली सम्झना होटेलअगाडि मूर्ति निर्माण गरिरहेका मूर्तिकार श्यामबाबु पण्डितले पनि यस वर्षको सिजन कमजोर रहेको बताउनुभयो । “सामान्यतया यो समयमा ५० भन्दा बढी मूर्तिको अर्डर आउँथ्यो, अहिले मुश्किलले २० वटा अर्डर आएको छ,” उहाँले भन्नुभयो, “बजार मन्दी छ, घाटा हुने निश्चितजस्तै छ ।”
बजारमा केही चहलपहल बढ्न थाले पनि व्यापारीहरू पूजालाई लिएर पूर्ण रूपमा उत्साहित छैनन् । बन्द र तनावपूर्ण अवस्थाले ग्राहकहरूको चाप घटाएको र आर्थिक रूपमा समेत असर परेको व्यापारीहरूको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्