तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन (बागलुङ) । भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो । 

आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् । 

बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना तथा यातायातका साधन कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ । लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको उहाँको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गका विभिन्न ठाउँमा पहिरो जाने र रूख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेल बताउनुहुन्छ । वर्षा हुँदा बित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button