नेपाली सेनाद्वारा अनाधिकृत हातहतियार बुझाउन आग्रह, दुरुपयोग गरे कानुनबमोजिम कारबाही हुने चेतावनी
काठमाडौं । नेपाली सेनाले हालैको ‘जेन Z’ नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका वा हराएका हातहतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै उक्त सामग्रीको दुरुपयोग हुन नदिन यस्तो आग्रह गरेको हो।
विज्ञप्तिमा “Gen Z” नेतृत्वको आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएका, चोरी भएका वा हराएका हातहतियार र गोलाबारुद सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई फिर्ता गर्न अनुरोध गरिएको छ। यी सामग्रीहरूको दुरुपयोग भएमा त्यसले थप क्षति पुर्याउन सक्ने भन्दै सेनाले त्यस्ता सामग्री भेट्टाउने व्यक्तिहरूलाई तत्काल सुरक्षा निकायमा जानकारी गराउन र बुझाउन प्रेरित गर्न अनुरोध गरेको छ।
साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाकहरूको अनधिकृत प्रयोग नगर्नसमेत आग्रह गरिएको छ। सेनाले अनधिकृत हातहतियार तथा गोलीगठ्ठा नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आम नागरिकलाई अपिल गरेको छ। देशमा शान्ति-सुरक्षा कायम गर्न नेपाली सेना लगायतका अन्य सुरक्षा निकायहरू दिनरात खटिरहेको पनि जानकारी दिइएको छ।









प्रतिक्रिया राख्नुहोस्