भीमफेदी कारागारबाट २६० कैदीबन्दी फरार
मकवानपुर। मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट २६० जना कैदीबन्दी फरार भएका छन्। मंगलबार राति करिब १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले पर्खाल भत्काएर भागेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो।
पौडेलका अनुसार, सुरुवाती प्रयासमा कैदीबन्दीहरूले तीन वटा गेट फुटाउन खोजेका थिए। गेट नफुटेपछि पश्चिमतर्फको पर्खाल भत्काएर भागेका हुन्। ब्लकमा पाँच सयभन्दा बढी कैदीबन्दीमध्ये करिब २३० जनालाई पुनः नियन्त्रणमा लिइएको छ।
भाग्ने क्रममा सुरक्षाकर्मी र कैदीबन्दीबीच करिब चार घण्टा झडप भएको थियो। सेनाले चलाएको गोली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन्, जसको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। कारागारको गाडी लिएर भाग्ने क्रममा टायरतर्फ चलाइएको गोली कैदीलाई लागेको पौडेलले बताउनुभयो।
कैदीबन्दीहरूले तोडफोड र आगजनी पनि गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउण्ड हवाई फायर, सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो। कारागारको ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रशासनले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्