देवघाटको योगीनरहरिनाथ आश्रममा कोटी होम महायज्ञ हुने
चितवन । देवघाटको बागेश्वरी स्थित राष्ट्र गुरु योगी नरहरिनाथ आश्रममा दुई महिना लामो ऐतिहासिक कोटी होम महायज्ञ हुने भएको छ । योगी नरहरिनाथको सङ्कल्प र आदेशमा शिव गोरक्ष योगी नरहरिनाथ साङ्ग कोटी होम महायज्ञ हुने भएको हो ।

२०८३ साल वैशाख १८ गतेदेखि असार ९ गतेसम्म हुने कोटी होम महायज्ञमा गोरक्ष–गोरखनाथबिच मन्त्रबाट सवा करोड कोटी हवन, सहस्त्र चण्डी पाठ, अतिरूद्री, ग्रहशान्ति, व्रतबन्ध, विवाह, सहर्ष चन्द्र दर्शन लगायतका सामूहिक संस्कारहरू आयोजना गरिने छ ।
योगी नरहरिनाथले विसं २०३८ माघे सङ्क्रान्तिका दिन देवघाटस्थित गलेश्वर बाबा आश्रमबाट कोटी होम गर्न सुरु गर्नुभएको थियो । उहाँले आफ्नो जीवनकालमा १२९ वटा कोटी होम, ४५ वटा लक्ष्य होम र पाँचवटा शिव यज्ञहरू सम्पन्न गर्नु भएको थियो । यिनै कोटी होम यज्ञका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई उहाँले शिक्षित तुल्याउनु भएको थियो । कोटी होमकै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोगलाई गुरुकुलहरू स्थापना गराउन सदुपयोग गरे । उहाँले वैदिक दर्शनमा आध्यात्मिक क्रान्तिको सुरुवात गर्नुभएको थियो ।
योगी नरहरिनाथले स्थापना गरेको आश्रममा गुरुकुल लगायत गौशाला, प्राकृतिक चिकित्सालयलगायत छन् । यहाँको ४२ बिघा जग्गा २०५२ सालमा तत्कालीन सरकारले भारत र अमेरिकाको विश्वविद्यालयलाई दिने निर्णय गरेको थियो । उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका योगी नरहरिनाथले मुद्दा जित्नुभएको थियो । विसं १९७१ फागुन १७ गते कालिकोटमा जन्मिएका उहाँको २०५९ साल फागुन १३ गते ८८ वर्षको उमेरमा निधन भएको थियो ।
महायज्ञको प्रधान संरक्षक योगी श्रीषनाथ रहनु भएको छ । उनी योगी नरहरिनाथको प्रमुख शिष्य हुनुहुन्छ भने गोरखानाथ मठका प्रमुख मठाधीश समेत हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्