तराईका जिल्लाहरूमा खानेपानीको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण
भदौ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले किसानको मलको समस्या, सिँचाइको समस्या, उखु तथा दुग्ध किसानका समस्या, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले तराईका जिल्लाहरूमा खानेपानीको समस्या रहेको र नगरपालिकाले दमकल मार्फत पानी खुवाइरहेको भन्दै तत्काल खानेपानीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका क्षेत्रमा सुख्खा क्षेत्रले पाउनुपर्ने सम्पूर्ण राहत तथा सुविधा उपलब्ध गराउन समेत सांसदहरुले माग गर्नुभयो ।
सांसदहरुले देशका विभिन्न भागमा अवरुद्ध सडक सञ्चालन, भत्किएका मोटरेवल पुलको पुनर्निर्माण, सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले गत जेठ १३ गतेदेखि सदनमा विरोध र बहिस्कार गर्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्