कर्णाली राजमार्ग अवरुद्ध: स्याउ बाटोमै कुहिने चिन्ता
कर्णाली। कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो ।

जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन् । यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन् । गन्तव्यमा पुर्याइसक्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ । राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालाराम नेपालीले बताउनुभयो ।
जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिराका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएका बताउनुभयो । उहाँका अनुसार रु १३ करोड बराबरको एक सय ८४ मेट्रिक टन स्याउ कुहिने डर छ । किसानले बाटो खुलाउन सरोकारवालालाई अनुरोध गर्दै आएका छन् ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ढुङ्गा फुटाउन नसकिएको बताउनुभयो । “ढुङ्गा फुटाउन नेपाली सेनाको टोली मान्मबाट त्यसतर्फ जाँदै छ”, उहाँले भन्नुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन बाधा पुगेको उहाँले बताउनुभयो ।
कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पहिरो खसेको स्थानमा गएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्