हुलाकी राजमार्गले बदलियो दुर्गम नरैनापुर
नेपालगन्ज । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदी पारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक सञ्चालनले नरैनापुरबासीको जीवनशैली नै बदलिएको छ । हुलाकी सडक नरैनापुरबासीको लाइफलाइन बनेको छ ।

सदरमुकामसँग सम्पर्क विच्छेद जस्तै हुँदा सबै कारोबार भारतमा गर्नुपर्ने बाध्यताले आफूहरू नेपालमै नभए जस्तो लाग्ने तीतो अनुभव स्थानीयसँग छ । तर, अहिले परिवेश बदलिएको छ । नेपाली हुनुको अनुभूति अहिले भएको स्थानीय मोहम्मद इयाज खाँले बताउनुभयो ।
हुलाकी सडक निर्माण भएपछि अहिले सदरमुकाम नेपालगन्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुइया बघौडासम्म दैनिक रूपमा सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माण नहुँदा नरैनापुरबासीलाई भारतको बाटो हुँदै सदरमुकाम नेपालगन्ज पुग्नुपर्थ्यो । तर, अहिले निकै छोटो समयमै पुगिन्छ । मियाँपुर्वाकी साकिरा पठानले सडक सञ्जालले दैनिक जीवन निकै सहज भएको बताउनुभयो ।
विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ । शिक्षा, स्वास्थ्यमा पहुँच वृद्धि भएको छ । ग्रामीण बजार विस्तार हुन थालेका छन् । भारतीय रुपैयाँ मात्रै चल्ने परिपाटी बदलिएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति बढ्दै गएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको स्वरूप बदलिएको बताउनुहुन्छ ।
बहु प्रतीक्षित नेपालगन्ज–बघौडा सडक निर्माण चर्चा सुरु भएको दुई दशक बढी समयपछि निर्माण सम्पन्न भएको हो । करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरु भए पनि पटक पटकको अवरोध र अनिश्चितताका बिच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगन्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि दुर्गम नरैनापुर अब सुगम बन्दै गएको छ ।
प्रतिक्रिया राख्नुहोस्