तपाईँ सुन्दै हुनुहुन्छः

उखु किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उखु किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरूले उखुको समर्थन मूल्य अनुसार रकम भुक्तानी नपाउँदा किसानहरू पटक पटक आन्दोलन गर्न बाध्य भइरहेको र अहिले पनि आन्दोलन भइरहेको भन्दै किसानहरूलाई विगत देखी दिइँदै आएको उत्पादनमा आधारित अनुदान दिन र बाँकी बक्यौता रकम उपलब्ध गराउन माग गर्नुभयो ।

सांसदहरूले देशका विभिन्न भागमा वन्यजन्तुको आक्रमणबाट मानवीय र पशु चौपायाको क्षति बढ्दै गएकाले मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी नागरिकको सुरक्षाका लागि समयमा नै ध्यान दिन आग्रह गर्नुभयो ।

सांसदहरूले कवाड व्यवसायीहरू आन्दोलनमा रहेको भए पनि अदालतको स्टे अर्डरसमेत नमानी काठमाडौँमा कवाडमाथि अन्याय भएको भन्दै समस्या समाधानका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

सांसदहरूले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा कूटनीतिक तवरबाट कुरा उठाउन आग्रह गर्नुभयो  ।

सांसदहरूले प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि सदनबाट राष्ट्रियताका सवालमा साझा अवधारणा बनाउन आग्रह गर्दै चीन भ्रमणका क्रममा नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे कूटनीतिक तवरबाट कुरा राख्न आग्रह गर्नुभयो ।

सांसदहरूले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिका विषयमा सदस्य राष्ट्रका हैसियतले संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न समेत माग गर्नुभयो ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । 

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button