चौदण्डीगढीमा अवैध उत्खनन प्रकरणमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक
उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले गत साउन २७ गते नियन्त्रणमा लिएका १७ वटा टिप्पर अवैध नदीजन्य पदार्थ उत्खनन प्रकरणमा गठित छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

नगरको साउन २९ गते बसेको कार्यपालिकाको बैठकले वडा नम्बर–९ का अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो। सदस्यमा वडा नम्बर–४ का अध्यक्ष लुङ्गाराज राई र इन्जिनियर सन्तोष राई रहेका थिए । उक्त समितिले आज (बुधबार) प्रतिवेदन सार्वजनिक गरेको छ ।

छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदन तयार गर्न सरोकारवालाहरूको बयान, स्थलगत अवलोकन÷अनुगमन र उपलब्ध तथ्याङ्क तथा अभिलेखका आधारमा निर्माण गरेको जनाएको छ ।
छानविन समितिले अवैध रुपमा माटो चोरी निकासी गरिएको जग्गा कित्ता नं. ८० को १५ कट्ठा ४.५ धुर र बाँकी कित्ता नं. २४८, २४९ र १९७ का केही क्षेत्रफलबाट १९ हजार ८ सय ९० दशमलव ६७५ घनमिटर अवैध रुपमा उत्खनन भएको जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्दै समितिले उक्त परिणामको अवैध माटो चोरी निकासी भएको ठहर सहित उक्त परिणामको माटो चोरी निकासी गर्ने सितारम कन्ट्रक्सन बेल्टारलाई कोशी प्रदेशको आर्थिक ऐन, २०८२ को अनुसूची १४ बमोजिम राजश्व र जरिवाना गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश कानुन अनुसार २ रुपैयाँ प्रति घन हुन आउने १४ लाख ५ हजार ७७ रुपैयाँ २९ पैसा र प्रदेश कानुन अनुसार सोको दोब्बर जरिवाना समेत गरि कुल २८ लाख १० हजार १ सय ५४ रुपैयाँ ५७ पैसा सिताराम कन्स्ट्रक्सन बेल्टारलाई राजश्व दाखिला गराउने निर्णय गरेको छ ।
अवैध रुपमा माटो चोरी निकासी भइरहेको अवस्थामा नियन्त्रणमा परेका १७ वटा टिप्परका व्यवस्थापक बानियाँ विल्डर्सका सुसन बानियाँले सिताराम कन्स्ट्रक्सनलाई टिप्पर भाडामा दिएको भन्ने खुल्न आएको जनाउँदै प्रदेश कानुन अनुसार प्रति टिप्पर १ लाखका दरले १७ लाख रुपैयाँ समेत जरिवाना गर्ने जनाएको छ । छानविन समितिले अवैध उत्खननमा प्रयोग गरिएको स्काभेटरको समेत खोजी गरि प्रदेश कानुन अनुसार दण्ड जरिवाना गर्न सिफारिस गरेको जनाएको छ ।
छानविन समितिले नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा निकासी कार्य गर्दा प्रचलित नियमानुसार भए÷नभएको बारे नियमित निगरानी गरि राजश्व चुहावट नियन्त्रण गर्ने र प्राकृतिक स्रोतबाट प्राप्त हुन आउने राजश्व सङ्कलन गर्ने कार्य नगरको राजश्व शाखा प्रमुखको पदीय दायित्वमा रहने भन्दै आफ्नो पदीय जिम्मेवारी बमोजिम कार्य सम्पादन नगरेको निष्कर्ष सहित नगरका राजश्व शाखा प्रमुख प्रकाश वनलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्